दार्जीलिङ, सिक्किम, डुवर्स, बनारस, असम, मेघालय र
नागाल्यान्डका शीर्ष ४४ कथाकारहरूका ४४ वटा उत्कृष्ट
कथाहरुको सङ्ग्रह हो, आधुनिक भारतीय नेपाली कथा । यस
ग्रन्थको आरम्भमा ‘कथाको कथा’ शीर्षकमा प्राचीनकालदेखि
आधुनिकतासम्म कथा–विधाको समय–यात्राबारे विशद चर्चा गर्दै
कथाहरूको प्रवृत्तिगत विवेचना, विश्लेषण र मूल्याङ्कन अनि
प्रत्येक कथाकारको जीवनी, व्यक्तित्व तथा कृतित्वको चर्चा पनि
सङ्क्षेपमा गरिएको छ ।
समग्र नेपाली कथा–साहित्यको आरम्भदेखि आजसम्मको
यथातथ्य लेखाजोखासमेत प्रस्तुत गर्दै आधुनिक भारतीय नेपाली
कथालेखनको ऐतिहासिक सर्वेक्षण, आधुनिककालीन भारतीय
नेपाली कथा र कथाकारहरूको अध्ययन, अनुशीलन र विमर्शलाई
सम्पादक अविनाश श्रेष्ठले लामो अनुसन्धानात्मक प्रस्तुतिमार्फत
प्रस्ट्याउने कार्य पनि गरेका छन् । यो ग्रन्थ भारतीय नेपाली
कथाहरूको अहिलेसम्मकै विशिष्ट सङ्कलन हो ।